एक जना लामाले मलाई यो फोटो पठाउनुभयो — प्याल्दोरको डाँडामा पहिले बौद्ध माने थियो। त्यसलाई भत्काएर क्रुस राखिएको रहेछ।
मैले सोधेँ, “के यो कुरा सत्य हो?”
उहाँले स्पष्ट भन्नुभयो, “सत्य हो।”
यो घटनालाई गजबको संयोग नै भन्नुपर्छ। काठमाडौंमा बस्ने, भीमराव अम्बेडकरका चेला भनेर आफूलाई चिनाउने, बौद्ध इतिहासको ‘ट्युसन’ लिएका र सामाजिक सञ्जालमा निरन्तर विद्वता प्रदर्शन गर्ने एक समूह बौद्ध विद्वानहरू यस विषयमा भने पूर्ण रूपमा मौन छन्।
बौद्धहरूको दाबी गरिएको डाँडामा क्रुस राखिएको घटना र त्यसपछि क्रुस ढलेर उत्पन्न भएको विवाद नेपालदेखि अरब, कोरिया हुँदै युरोप-अमेरिकासम्म पुगिसक्दा पनि उनीहरू चुइँक्क बोल्न तयार छैनन्।
अझ आश्चर्यको कुरा त के छ भने, क्रुसको विषय सामाजिक सञ्जालमा उछालिन थालेको दिनदेखि नै यो समूह एकतर्फी हिन्दू-विरोधी स्टाटस लेख्नमा व्यस्त देखिन्छ। अर्कोतिर हिन्दूहरू भने प्याल्दोरको डाँडालाई बौद्ध स्थल बनाउनुपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छन्।
स्वाभाविक प्रश्न उठ्छ — यी विद्वानहरू किन मौन छन्? के उनीहरूको एकमात्र काम हिन्दू धर्मको विरोध गर्नु मात्र हो?
यही समयमा उनीहरूलाई वेद, रामायण, आदि शंकराचार्य, संस्कृत भाषा जस्ता विषयमा विद्वता प्रदर्शन गर्न भने प्रशस्त फुर्सद मिलिरहेको छ। तर प्याल्दोरको यो संवेदनशील विषयमा भने उनीहरू पूर्णतः मौन छन्।
यो मौनता संयोग मात्र हो कि कुनै नियोजित रणनीति? बौद्ध विद्वानहरूबाट यसको स्पष्ट जवाफको अपेक्षा गरिन्छ।
